
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले ३६ बलमा अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे। यस्तै इसान पाण्डेले ३१ बलमा ३७ रन तथा ब्रान्डन म्याकमलेनले १२ बलमा आक्रामक २२ रनको योगदान दिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले २५ बलमा अविजित ४० रन बनाए। मेहेदी हसनले २१ बलमा ४ चौका र १ छक्कासहित ३२ रन जोडे भने कप्तान कुशल मल्लले १७ बलमा २ चौकासहित २१ रन बनाए।




बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेन र हेमन्त धामीले समान १ विकेट हात पारे।
यसअघि पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा जित निकाल्दै पुनरागमन गरेको छ। पोखराले भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको हो।
बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्स भिड्नेछन्। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन्।



































