चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशभरको मौसम प्रभावित भएको छ। हिजोदेखि सुरु भएको मौसमी गतिविधिका कारण आज पनि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज बिहान देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका अन्य भूभागमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने र मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ।

महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्भावित वर्षालाई मध्यनजर गर्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न किसानलाई अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। मौसम प्रतिकूल रहने सम्भावना भएकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यस्ता क्षेत्रमा पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न महाशाखाले सुझाव दिएको छ।

वर्षासँगै तापक्रम घटेर चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक किनारमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्नसमेत महाशाखाले अनुरोध गरेको छ।

Dhnagadhi & Krishanapur