
मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चरणको चेतावनी साइरन बजाउन सुरु गरिएको छ। जलाशयमा पानीको सतह १ हजार ५२८.५० मिटर पुगेपछि सतर्कताका लागि साइरन बजाइएको नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम आयोजनाले जनाएको छ।

आयोजनाले जलाशयको तल्लो तटीय क्षेत्रका बासिन्दालाई खोला किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै, देउराली–सिस्नेरी सडक खण्ड प्रयोग गर्दा सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ।
जलाशयमा पानीको सतह बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले काठमाडौँतर्फ जाने सवारीसाधनलाई भैँसे र भीमफेदीलगायतका प्रहरी चौकीमा रोकेको छ। यात्रु तथा सवारीचालकलाई वैकल्पिक रूपमा त्रिभुवन राजपथ प्रयोग गर्न निर्देशन दिइएको छ।







































