
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ भने दार्चुला, बझाङ र हुम्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।




यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने विभागले जनाएको छ।
मौसममा हुने परिवर्तनका कारण चिसो बढ्न सक्ने भएकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।


































