
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिचौलियासँग जोडिएको प्रकरणमा प्रधानमन्त्री, न्यायालय र प्रहरीसमेत आरोपित हुने अवस्था सिर्जना भएको भन्दै घटनाको उच्चस्तरीय छानबिन गर्न तत्काल संसद् बैठक बोलाउन माग गरेको छ। कांग्रेसले पछिल्लो समय सरकारका गतिविधि, पत्रकारमाथि भएको धरपकड तथा न्याय सम्पादन प्रक्रियामाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग अघि सारेको हो।

सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले पछिल्ला सरकारी गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि प्रश्न उठेको निष्कर्ष निकालेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिचौलियासँग जोडिएको प्रकरणमा कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री, न्यायालय र प्रहरीसमेत आरोपित हुने अवस्था सिर्जना भएको बताए।




उनले न्याय सम्पादनको प्रक्रियासमेत विवादित रूपमा सार्वजनिक भइरहेका कारण त्यसबाट प्राप्त हुने न्याय कति निष्पक्ष र न्यायोचित हुन्छ भन्ने विषयमा आशंका उत्पन्न भएको उल्लेख गरे।
आङ्देम्बेका अनुसार यस्तो गम्भीर विषयमा सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन आवश्यक छ। त्यसका लागि संसद् बैठक तत्काल आह्वान गरी संसदीय विशेष समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ। संसद् बैठक बोलाउने विषयमा अन्य विपक्षी दलहरूसँग समेत छलफल गरिने उनले जानकारी दिए।
यसैगरी कांग्रेसले पत्रकारमाथि भएको प्रहरी धरपकडप्रति पनि आपत्ति जनाएको छ। पक्राउ गर्नुको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब भएको कांग्रेसको ठहर छ।
कांग्रेसले यस्तो गतिविधिलाई विधिको शासनविपरीतको स्वेच्छाचारिताका रूपमा व्याख्या गर्दै प्रेस स्वतन्त्रताको सम्मान र नागरिकका मौलिक अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिएको छ। साथै, पछिल्ला विवादित घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।



































