‘गेटा विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्छौँ, गुणस्तरमा सम्झौता हुँदैन’ : उपकुलपति जोशी

Image
Nisarga Hospital

लामो समयको प्रतीक्षापछि कैलालीको गेटामा स्थापना भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको चरणमा पुगेको छ। करिब १०० बिघा क्षेत्रफलमा फैलिएको र सात अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएका भौतिक संरचनालाई उपयोग गर्दै विश्वविद्यालयले शैक्षिक कार्यक्रम र शिक्षण अस्पताल सञ्चालनको तयारी अघि बढाएको छ।

CP Hospital Dhangadhi

विश्वविद्यालयमा एमबिबिएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ। ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि दुई अर्ब ५३ करोड रुपैयाँ र ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भएको विश्वविद्यालय प्रशासनको दाबी छ। यसैबीच, विश्वविद्यालयको तयारी, चिकित्सा शिक्षाको गुणस्तर र सञ्चालन प्रक्रियालाई लिएर विभिन्न प्रश्न तथा बहस भइरहेका छन्।

यिनै विषयमा केन्द्रित रहेर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

 विश्वविद्यालय सञ्चालनको तयारी कहाँ पुगेको छ ?

  विश्वविद्यालय सञ्चालनका लागि आवश्यक काम तीव्र रूपमा अघि बढाएका छौँ। जिम्मेवारी सम्हाल्दा करिब १०० बिघा जमिनमा अन्तर्राष्ट्रियस्तरका संरचना बनेर पनि वर्षौंदेखि उपयोगविहीन अवस्थामा थिए। तीन महिनाभित्र नौवटा नियमावली र सङ्गठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण तयार गर्‍यौँ। ३०० शय्याको अस्पताल सञ्चालनका लागि दुई अर्ब ५३ करोड रुपैयाँ र ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भएको छ। सरकार तथा सरोकारवालाको सहयोगमा विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने काम भइरहेको छ।

 विश्वविद्यालयको औचित्य र सञ्चालन क्षमतामाथि प्रश्न उठिरहेका छन् नि ?

 विश्वविद्यालयका दुई महत्वपूर्ण पक्ष अध्ययन–अध्यापन र शिक्षण अस्पताल हुन्। यी दुवैलाई अलग गरेर हेर्न मिल्दैन। एमबिबिएसमा ५० विद्यार्थी भर्ना गर्ने हो भने त्यसअनुसार ३०० शय्याको अस्पताल र आवश्यक सेवा सुविधा चाहिन्छ। त्यसैले शैक्षिक कार्यक्रम र अस्पताललाई सँगसँगै अगाडि बढाउन सकिन्छ। सुरुदेखि नै पूर्ण विकसित विश्वविद्यालयको अपेक्षा गरेर काम रोक्नु हुँदैन।

 चिकित्सा शिक्षा गुणस्तरीय बनाउन के तयारी गर्नुभएको छ ?

 आधारभूत स्वास्थ्य विज्ञान विभागका लागि आवश्यक संरचना, प्रयोगशाला, सामग्री तथा चिकित्सा शिक्षा आयोगले तोकेका उपकरण र पूर्वाधार तयार छन्। बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री कार्यक्रमका लागि पनि तयारी पूरा गरेका छौँ। गुणस्तरीय शिक्षामा कुनै सम्झौता गर्दैनौँ।

 अस्पतालको क्षमता विस्तार र अन्य अस्पतालसँगको सहकार्य कसरी अघि बढ्छ ?

 अहिले ३०० शय्याको अस्पताल सञ्चालनको तयारी छ। विद्यार्थीको क्लिनिकल अभ्यास सुरु हुने दुई वर्षभित्र अस्पताललाई पाँचदेखि छ सय शय्यामा विस्तार गर्ने योजना छ। विश्वविद्यालय ऐनअनुसार प्रदेश तथा स्थानीय तहका अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ। त्यसैअनुसार चारवटा अस्पतालसँग सम्झौता गरेका छौँ। यसको उद्देश्य आफ्नै अस्पताल विकास नगर्ने होइन, स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तार गर्नु हो।

 डा. गोविन्द केसीले उठाउनुभएका माग र चिन्तालाई कसरी लिनुभएको छ ?

 म डा. केसीलाई निकै सम्मान गर्छु। नेपालको चिकित्सा शिक्षा सुधारमा उहाँको अतुलनीय योगदान छ। उहाँले उठाउनुभएका प्रश्नलाई गम्भीरतापूर्वक लिएका छौँ। सुदूरपश्चिमका विद्यार्थीले आफ्नै क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षा पढ्न पाउनुपर्छ र नागरिकले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनुपर्छ भन्ने उहाँको अभियानको मूल मर्म हो। हामी पनि त्यही उद्देश्य पूरा गर्न काम गरिरहेका छौँ। गुणस्तरीय शिक्षामा कुनै सम्झौता हुने छैन।

 विश्वविद्यालयको दीर्घकालीन लक्ष्य के छ ?

 यसलाई परम्परागत शिक्षण अस्पतालमा मात्रै सीमित राख्न चाहँदैनौँ। कार्डियोपल्मोनरी सेन्टर, चाइल्ड हेल्थ सेन्टर, सर्जरी सेन्टर तथा यौनिकता र प्रजनन स्वास्थ्य केन्द्रजस्ता विशिष्टीकृत सेवा केन्द्र स्थापना गर्ने सोच छ। अनुसन्धानमा आधारित सामुदायिक स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ। विश्वका प्रतिष्ठित विश्वविद्यालयसँग सहकार्य र साझेदारी विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरको संस्था बनाउने हाम्रो प्रयास हुनेछ।

 सुदूरपश्चिमका नागरिकलाई के भन्न चाहनुहुन्छ ?

 यो विश्वविद्यालयप्रति यहाँका नागरिकको ठूलो माया र अपेक्षा छ। मैले सरसफाइका लागि आह्वान गर्दा १५ हजारभन्दा बढी नागरिक स्वःस्फूर्त रूपमा सहभागी हुनुभएको थियो। यसले यो संस्था नागरिकको सपना र अपनत्वसँग जोडिएको प्रमाणित गर्छ। सबैको साझा प्रयासबाट विश्वविद्यालयलाई चिकित्सा शिक्षाको गन्तव्य र विशिष्टीकृत स्वास्थ्य सेवाको केन्द्र बनाउने हाम्रो प्रतिबद्धता छ।

Dhnagadhi & Krishanapur