
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै सुदूरपश्चिमले ४ खेलबाट ४ अंक जोडेको छ।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए। इशान पाण्डेले २५, शेरफेन रदरफोर्डले अविजित २१ तथा आरिफ शेखले अविजित २० रन जोडे। चितवनका रञ्जित कुमारले ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। उसका लागि रवि बोपाराले ४० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४९ रन बनाए। डाविड मालानले १६ तथा विवेक कुमार यादवले १७ रन जोडे।




सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले १–१ विकेट हात पारे।
यो चितवनको प्रतियोगितामा पहिलो हार हो। ३ खेलबाट ३ अंक जोडेको चितवनको हारपछि साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणमा अपराजित रहने एक्लो टोली बनेको छ।
एनपीएलमा मंगलबार विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ।


































