
अत्तरिया: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।




आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


































