
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। विशेषगरी हिमाली क्षेत्रमा मौसममा परिवर्तन आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।




आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा समेत आंशिक बादल लाग्ने सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, शुक्रबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभावका कारण आगामी दिनमा पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।



































