
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै विराटनगर किंग्सलाई ८३ रनमै अलआउट गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै न्यून स्कोरमा समेटिएको हो।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ बलमा २२ तथा बसिर अहमदले १० रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
एक समय ३५ रनमै ७ विकेट गुमाएको विराटनगरलाई म्याथ्युज र रुपेशले आठौँ विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै केही राहत दिएका थिए।




काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। सहान अराचिगे र जहानदान खानले २–२ विकेट झारे। त्यस्तै कप्तान करण केसी, शाह आलम र देव शाहले १–१ विकेट लिए। काठमाडौंको कसिलो बलिङका कारण विराटनगर सामान्य योगफलमै रोकिएको हो।


































