विराटनगरमाथि काठमाडौं गोर्खाजको ९ विकेटको शानदार जित, वार्नर र बोसिस्टोको अविजित साझेदारी

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो।

CP Hospital Dhangadhi

काठमाडौंको जितमा अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले सर्वाधिक ४४ रन बनाए। उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित अविजित २३ रन बनाए। वार्नर र बोसिस्टोले दोस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। ओपनर साहिल पटेलले १० रन जोडे। विराटनगरका अपराजित पौडेलले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा ८३ रनमै अलआउट भएको थियो। उसका लागि रुपेश सिंहले सर्वाधिक २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए। एक समय ३५ रनमै ७ विकेट गुमाएको विराटनगरलाई म्याथ्युज र रुपेशले आठौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै केही राहत दिएका थिए।

काठमाडौंका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए भने सहान अराचिगे र जहानदान खानले २–२ विकेट लिए।

यो जितसँगै काठमाडौंले तीन खेलबाट ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेल खेलेको विराटनगर समान ४ अंकसहित रनरेटका आधारमा पाँचौँ स्थानमा झरेको छ।

Dhnagadhi & Krishanapur