महँगी र आर्थिक असमानताविरुद्ध फ्रान्समा उत्रिए साढे ५ लाखभन्दा बढी नागरिक, ४४८ पक्राउ

Image
Nisarga Hospital

फ्रान्स: बढ्दो महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै फ्रान्समा बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी नागरिक सडकमा उत्रिएका छन्। फ्रान्सेली सरकारका अनुसार गत सेप्टेम्बरदेखि सुरु भएको आन्दोलनयता एकै दिनमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो।

CP Hospital Dhangadhi

राष्ट्रव्यापी हडतालसँगै सुरु भएको प्रदर्शनमा विद्यार्थी, शिक्षक, मजदुर, स्वास्थ्यकर्मी, यातायात क्षेत्रका कर्मचारी तथा पहेँलो भेस्ट आन्दोलनका समर्थक सहभागी भएका थिए। उनीहरूले बढ्दो जीवनयापन खर्च नियन्त्रण, धनी र गरिबबीचको आर्थिक खाडल कम गर्न तथा राजनीतिक र सामाजिक परिवर्तनको माग गरेका छन्।

प्रदर्शनका क्रममा रेनेस, नान्टेस, लियोन र मार्सेईलगायत सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। फ्रान्सको गृह मन्त्रालयका अनुसार प्रहरीले देशभरबाट ४४८ जनालाई पक्राउ गरेको छ। लियोनमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेको थियो भने रेनेसमा होटलमा तोडफोड र प्रहरीमाथि वस्तु प्रहार भएको थियो। टुलुज नजिकैको एक विद्यालयमा आगजनी भएको छ। देशभर ८६ स्थानमा आगलागीका घटना भएको मन्त्रालयले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हडतालका कारण करिब एकतिहाइ उच्च शैक्षिक संस्था प्रभावित भएका छन् भने विद्यालयका १३ प्रतिशत कर्मचारी सहभागी भएका थिए। रेल सेवा पनि अवरुद्ध भएको थियो। अस्पतालका करिब पाँच प्रतिशत कर्मचारी मात्रै हडतालमा सहभागी भएकाले स्वास्थ्य सेवा भने सामान्य रूपमा सञ्चालन भएको जनाइएको छ।

श्रमिक सङ्गठनहरूले न्यूनतम पारिश्रमिक र पेन्सन वृद्धि गर्न माग गरेका छन्। सीजीटीले न्यूनतम पारिश्रमिक १० प्रतिशत बढाउनुपर्ने र सीएफडीटीले मासिक पारिश्रमिकमा १०० युरो वृद्धि गर्नुपर्ने माग अघि सारेका छन्।

त्यस्तै, विद्यार्थी सङ्गठनहरूले शिक्षा बजेटमा १० अर्ब डलरभन्दा बढी थप्न, विद्यालय पूर्वाधारमा १.५ अर्ब डलर लगानी गर्न र विश्वविद्यालयमा दुई लाख ५० हजार नयाँ भर्ना स्थान थप्न माग गरेका छन्।

यसैबीच, पहेँलो भेस्ट आन्दोलनकारीहरूले राष्ट्रपति इमानुएल म्याक्रों र उनको सरकारको बहिर्गमनसँगै नयाँ संवैधानिक प्रक्रियाको माग गरेका छन्। आन्दोलनकारीहरूले क्रिसमससम्म र आवश्यक परे आगामी वसन्तमा हुने राष्ट्रपतीय निर्वाचनसम्म प्रदर्शन जारी राख्ने बताएका छन्। शुक्रबार र शनिबार पनि प्रदर्शन गर्ने उनीहरूको तयारी छ।

Dhnagadhi & Krishanapur