
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बादल लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।




त्यस्तै, आइतबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा र कोशी तथा बागमतीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



































