
नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न विशेष तयारी गरेको छ। पर्वका समयमा विद्युत् अवरुद्ध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले पर्व अवधिको विद्युत् व्यवस्थापन र सम्भावित समस्या समाधानबारे छलफल गरेको छ। उनले विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मत गरी सेवा सुचारु गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन्।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान छ। तर, उक्त समयमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ। यसले गर्दा मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी छ।




त्यस्तै, प्रसारण तथा वितरण लाइनको निरीक्षण र मर्मतसम्भारलाई तीव्रता दिइएको छ। विद्युत्सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवासमेत प्रभावकारी बनाइनेछ।
प्राधिकरणले पर्वका समयमा विद्युतीय उपकरण तथा तार सुरक्षित रूपमा प्रयोग गर्न र विद्युत् चुहावट वा समस्या देखिए दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन उपभोक्तालाई आग्रह गरेको छ।



































