
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दा दोस्रो खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजको सामना गर्नेछ। दुवै खेलले प्लेअफ समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।

दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा कर्णाली दोस्रो जितको खोजीमा रहेको पोखराविरुद्ध मैदान उत्रनेछ। चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली छैटौँ स्थानमा छ। चारै खेल गुमाएको पोखरा भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ। प्लेअफको सम्भावना कायम राख्न पोखरालाई बाँकी तीनवटै खेल जित्नुपर्ने दबाब छ।
यस्तै, बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। चार खेलबाट पाँच अंक जोडेको चितवन चौथो स्थानमा छ भने सात अंकसहित काठमाण्डु दोस्रो स्थानमा रहेको छ। काठमाण्डुले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ भने चितवनले पछिल्लो खेलमा पोखरालाई हराएको थियो।




दुवै खेलको नतिजाले शीर्ष चारको समीकरण थप रोचक बनाउनेछ। लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् भने शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्।



































