
आज कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन गोवर्द्धन पूजा, बली पूजा, गोरु पूजा र हली पूजा गरी मनाइँदैछ। तिहारको महत्वपूर्ण दिनका रूपमा रहेको आज गाईको गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने तथा वर्षभरि कृषि कर्ममा सहयोग पुर्याउने गोरु र किसानलाई सम्मान गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाएर त्यसलाई गोवर्द्धन पर्वतको प्रतीकका रूपमा पूजा गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उठाएर गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाउनुभएको प्रसङ्गको सम्झनामा यो पर्व मनाउने गरिएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएको समयमा गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।




यस दिन बली राजाको पनि विशेष पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले राजा बलीलाई यमपञ्चकका पाँच दिन मृत्युलोकको शासन गर्ने अधिकार दिनुभएको मान्यता छ। यही विश्वासका आधारमा देउसी खेल्दा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा बसेको हो।
त्यस्तै, वर्षभरि खेतबारी जोतेर मानव जीवन र कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने गोरुलाई पूजा गरी मिठा परिकार खुवाइन्छ। गोरुलाई भगवान् महादेवको वाहन साँढेका रूपमा समेत सम्मान गर्ने चलन छ।
यसैगरी, गोरु जोतेर खेतीपाती गर्ने हली तथा कृषि कार्यमा संलग्न किसानलाई पनि पूजा गरी मिठा परिकार खुवाउने परम्परा छ। कृषि कर्ममा योगदान गर्ने श्रमिकको सम्मान गरिने भएकाले यस दिनलाई हली तिहारसमेत भन्ने गरिन्छ।



































