
पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।




त्यसैगरी, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। मौसममा हुने यस्तो परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।



































