
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको पाँच वर्ष पुग्न लाग्दा युद्ध अन्त्य गर्ने उद्देश्यसहित रुस, युक्रेन र अमेरिकाका उच्च अधिकारीबीच संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा त्रिपक्षीय वार्ता हुने भएको छ। यसै वर्षको फेब्रुअरीपछि तीनै देशका अधिकारीबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता हो।

वार्ताको मुख्य एजेन्डा युक्रेनको पूर्वी क्षेत्र डोनेत्स्कको नियन्त्रण र युद्धपछिको सुरक्षा व्यवस्था रहने बताइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार सार्वजनिक रूपमा आ–आफ्नो अडान कायम राखे पनि रुस र युक्रेनले गोप्य रूपमा केही लचकता देखाएका छन्।
रुसले आफ्नो कब्जामा आउन बाँकी डोनेत्स्कका भूभाग युक्रेनले छाड्नुपर्ने माग गर्दै आएको छ। तर युक्रेनले आफ्नो राष्ट्रिय सुरक्षा र भविष्यका लागि ती क्षेत्र महत्वपूर्ण रहेको भन्दै नियन्त्रण रेखालाई यथावत् राख्नुपर्ने अडान लिएको छ।




अमेरिकी टोलीको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुसनर र विशेष शान्ति दूत स्टिभ विटकफले गर्नेछन्। वार्तामा युद्धपछिको सुरक्षा ग्यारेन्टी र पूर्वी युरोपमा नेटोको उपस्थितिबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।
यद्यपि युरोपेली संघ र नेटोका सदस्य राष्ट्रलाई वार्तामा सहभागी नगराइएको विषयले युरोपमा चिन्ता बढाएको छ। अर्कोतर्फ, युक्रेनी पक्षले रुसमाथि पर्याप्त दबाबबिना सम्झौता गराउन खोजिएको भन्दै आशङ्का व्यक्त गरेको छ।
कूटनीतिक प्रयास जारी रहे पनि रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेको छ। अमेरिकी अधिकारीहरूले अबुधाबी वार्ताले तत्काल युद्ध अन्त्यभन्दा पनि आगामी चरणको संवादका लागि वातावरण तयार गर्ने बताएका छन्।



































