
इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले शैक्षिक योग्यतासम्बन्धी विवाद चर्किएपछि पदबाट राजीनामा दिएका छन्। उनका सहयोगी बुदी एरीका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोलाई राजीनामा पत्र बुझाएका हुन्।

इन्डोनेसियाको सर्वोच्च अदालतले सन् २०२४ को निर्वाचनका क्रममा गिब्रानले पेस गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्रलाई अमान्य ठहर गरेको थियो। अदालतले उनले माध्यमिक शिक्षा पूरा गरेको वा सोसरहको योग्यता हासिल गरेको पर्याप्त प्रमाण नभेटिएको जनाएको थियो।
अदालतको फैसलापछि १०० भन्दा बढी सांसदले उनीमाथि महाभियोग प्रक्रिया अघि बढाउन सकिने संसदीय पहललाई समर्थन गरेका थिए। तर गिब्रानले फैसलालाई चुनौती दिँदै आफ्नो शैक्षिक योग्यताको वैधता प्रमाणित गर्ने अवसर मागेका थिए।




गिब्रान सन् २०२४ को निर्वाचनमा राष्ट्रपति प्रबोवोका उम्मेदवार बनेका थिए। तत्कालीन राष्ट्रपति तथा उनका पिता जोको विडोडो (जोकोवी) र प्रबोवोबीचको राजनीतिक गठबन्धनले उनलाई उपराष्ट्रपति बन्ने बाटो खोलेको थियो।
पछिल्लो समय जोकोवी र प्रबोवोबीच सम्बन्धमा तनाव बढेको बताइएको छ। प्रबोवोले जोकोवीका निकट व्यक्तिहरूलाई सरकारी जिम्मेवारीबाट हटाउँदै लगेको र उनका प्रमुख योजनालाई प्राथमिकता नदिएको चर्चा छ।
यसैबीच, गत साता राष्ट्रपति कार्यालयका प्रमुख लिस्तियो सिगितलाई राष्ट्रपतिको फोन ट्यापिङ गरेको आशंकामा पक्राउ गरिएको थियो। उनी जोकोवीका निकट सहयोगी मानिन्छन्। पक्राउको भोलिपल्टै प्रबोवोले उनलाई पदबाट बर्खास्त गरेका थिए।



































