
तिहार बिदापछि खुलेको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि ९ हजार ६८५ रुपैयाँले घटेर २ लाख ३२ हजार ९४० रुपैयाँमा झरेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ। तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव र गिरावटको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।



























