
मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ। छठ पर्व मनाउन काठमाडौँबाट घर फर्किंदै गरेका आफन्त गुमाएपछि गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलोसमेत बलेको छैन।

बिहीबार बिहान भीमफेदी–६ स्थित चिसापानीगढीमा गाडी सडकबाट करिब ५०० मिटर तल खस्दा तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा सुन्दरपुरका एकै परिवारका ६ जनाले ज्यान गुमाएका छन्।
दुर्घटनामा गुड्डु यादव र उनकी श्रीमती गायत्री देवीको मृत्यु भएपछि उनीहरूका पाँच वर्षीय छोरा सक्षम र अर्का छोरा सुजन अभिभावकविहीन बनेका छन्। सक्षम घाइते अवस्थामा बाँचेका छन् भने सुजनको काठमाडौँमा उपचार भइरहेको छ। अर्का परिवारका १४ महिने बालक सुदीपको पनि उपचार भइरहेको छ।
दुर्घटनापछि पीडित परिवारले न्याय र उचित राहतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। गाउँपालिकाले एक दिन शोक घोषणा गर्दै मृतकका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।




























