
कैलालीमा खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर रोटाभेटरमा परेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–८, लिम्कामा शुक्रबार दिउँसो भएको दुर्घटनामा ७ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार दिउँसो करिब १ः५० बजे सुशान्तका बुवा ३७ वर्षीय खडकबहादुर चौधरीले आफ्नै खेतमा से २ त ३६७२ नम्बरको ट्याक्टरले जोताइ गरिरहेका थिए। सोही क्रममा ट्याक्टरमा सवार सुशान्त अचानक खसेर पछाडिको भागमा जडान गरिएको रोटाभेटरमा परेका थिए। गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि आफन्तले बालकको शव घर ल्याएका थिए। प्रहरीले घटनामा प्रयोग भएको ट्याक्टर र चालक खडकबहादुरलाई नियन्त्रणमा लिएको छ। ट्याक्टरका साहु ४० वर्षीय खुसीराम चौधरी पनि प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक हिरासिंह महराको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दुर्घटनाको कारण तथा घटनासम्बन्धी अन्य विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।




























