आइतबारदेखि सुदूरपश्चिमसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन आग्रह

Image
Nisarga Hospital

पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने सम्भावना छ। मौसमविद् विभूति पोखरेलका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ। तर आइतबारदेखि पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आउने अनुमान गरिएको छ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्नेछ। त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

सम्भावित वर्षा, असिना र हावाहुरीले खेतमा रहेको धानबाली तथा काटेर सुकाउन राखिएको परालमा क्षति पुर्‍याउन सक्ने भएकाले किसानलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। काट्न बाँकी धान तत्काल काटेर सुरक्षित स्थानमा राख्न र सुकाउन राखिएको पराल जोगाउन सुझाव दिइएको छ।

यद्यपि हिउँदे वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले लाभदायक पनि हुन सक्ने मौसमविद् पोखरेलले बताउनुभएको छ। उहाँले मौसमसम्बन्धी पछिल्ला पूर्वानुमान नियमित रूपमा हेर्न पनि आग्रह गर्नुभएको छ।