
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनका लागि डाविड मलानले अविजित ३५ रन बनाए भने कुशल मल्लले १५, रवि बोपाराले १३ र कमिल मिशाराले १२ रन जोडे। जनकपुरका राहुल यादवले ३ तथा ललित राजवंशीले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्र बनाएको थियो। कप्तान हर्मीत सिंहले सर्वाधिक २४ र विशाल सुशलिङले १५ रन बनाए। चितवनका रन्जित कुमारले ३ ओभरमा २ रन खर्चेर ३ विकेट लिए भने कप्तान सिकन्दर राजाले ४ ओभरमा १० रन दिँदै २ विकेट हात पारे।
जितसँगै ६ खेलबाट ७ अंक जोडेको चितवन चौथो स्थानमा उक्लिएको छ। लिगको अन्तिम खेलमा चितवनले आइतबार कर्णाली याक्ससँग खेल्नेछ। यता, जनकपुर र कर्णाली भने प्लेअफ दौडबाट बाहिरिएका छन्।





























