अत्तरियाको सुप समावेशी विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण, विद्यार्थीलाई सहज हुने अपेक्षा

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित सुप समावेशी आधारभूत विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको शौचालय सञ्चालनमा आएपछि विद्यार्थीलाई शौचालय प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

छठ पर्वको अवसरमा बिहीबार आयोजित चियापान तथा भेटघाट कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा विष्टले नवनिर्मित शौचालयको उद्घाटन गरेकी हुन्। उनले शौचालयको स्थलगत अवलोकनसमेत गरेकी थिइन्।

शिक्षक अभिभावक संघका अध्यक्ष तथा गोदावरी नगरपालिका–२ का वडा सदस्य डबलसिंह साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं समाजसेवी विनोद मल्ल विशिष्ट अतिथि थिए। कार्यक्रममा कैलाली र कञ्चनपुरका अपाङ्गता अधिकारकर्मी, शिक्षक, कर्मचारी तथा अपाङ्गता भएका व्यक्तिसहित ४५ जनाभन्दा बढीको सहभागिता थियो।

सोही अवसरमा दृष्टिविहीन संघ कैलालीका नवनिर्वाचित अध्यक्ष जगत चौधरीलाई विद्यालय परिवारले सम्मानसहित बधाई दिएको थियो।

कार्यक्रममा विनोद मल्लले आगामी मंसिर २ देखि ६ गतेसम्म सञ्चालन हुने युवा स्वास्थ्य महोत्सवमा अपाङ्गता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिने जानकारी दिए। साथै अपाङ्गता भएका व्यक्तिका हक, अधिकार र सवालबारे विशेष प्यानल छलफलसमेत आयोजना गरिने उनले बताए।

विद्यालयका प्रधानाध्यापक मानबहादुर साउँदले विद्यालयको अवस्था र भावी योजनाबारे जानकारी गराएका थिए।