शाखा अधिकृतसहित स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका विभिन्न पदमा लोक सेवा आयोगले माग्यो दरखास्त

Image
Nisarga Hospital

लोक सेवा आयोगले निजामती, सङ्घीय संसद् तथा राष्ट्रिय मानवअधिकार सेवाका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) र स्वास्थ्य सेवाका सातौँ तथा आठौँ तहका विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

CP Hospital Dhangadhi

आयोगले खुला तथा समावेशी प्रतियोगिता, आन्तरिक प्रतियोगिता र ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि विज्ञापन खुलाएको हो।

निजामती सेवातर्फ न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र सङ्घीय संसद् सेवाका अप्राविधिक पदमा आवेदन माग गरिएको छ। त्यस्तै, तथ्याङ्क अधिकृत तथा सिभिल, सिँचाइ, हाइवे, भवन, आर्किटेक्ट, मेकानिकल, इलेक्ट्रोनिक्सलगायत विभिन्न इन्जिनियरिङ पदमा पनि दरखास्त आह्वान गरिएको छ।

स्वास्थ्य सेवातर्फ नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, फार्मेसी अधिकृत, फिजियोथेरापिस्ट र जनस्वास्थ्य अधिकृतलगायत पदमा बढुवाका लागि आवेदन मागिएको छ।

बढुवातर्फ आवेदन दिन चाहने योग्य उम्मेदवारले २०८३ मंसिर २५ गतेभित्र फारम बुझाउनुपर्नेछ। इच्छुक उम्मेदवारले आयोगको अनलाइन पोर्टल psconline1.psc.gov.np मार्फत आवेदन दिन सक्नेछन्।

अधिकृत वा सो सरहका पदका लागि दरखास्त दस्तुर १ हजार २०० रुपैयाँ तोकिएको छ। प्राविधिक पदहरूको लिखित परीक्षा २०८३ चैत १४ गतेदेखि सञ्चालन हुने आयोगले जनाएको छ।