भारतमा गाडीको ठक्करबाट घाइते बैतडीका लोकदेउडा गायक प्रेम कोलीको उपचारका क्रममा निधन

Image
Nisarga Hospital

भारतमा अज्ञात गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैतडीका लोकदेउडा गायक प्रेम कोलीको उपचारका क्रममा निधन भएको छ। बैतडीको पाटन नगरपालिका–३ गुजर घर भएका करिब ४३ वर्षीय कोलीको शुक्रबार राति भारतको गोविन्दगढस्थित राजेन्द्र अस्पतालमा निधन भएको हो।

CP Hospital Dhangadhi

रोजगारीको सिलसिलामा परिवारसहित भारतमा बस्दै आएका कोलीले गोविन्दगढमा फलफूल पसल सञ्चालन गर्दै आएका थिए। गत कात्तिक २२ गते लक्ष्मी पूजाका दिन पसलको काम सकेर स्कुटरमा कोठा फर्किने क्रममा उनलाई अज्ञात गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको राजेन्द्र अस्पतालमा उपचार भइरहेको थियो।

उनको निधन भएको खबरले परिवार तथा आफन्तजन शोकमा परेका छन्। लोकदेउडा गायनमा समेत सक्रिय रहेका कोलीको अल्पायुमै निधन भएपछि सुदूरपश्चिमको लोकसंस्कृति क्षेत्रमा पनि क्षति पुगेको छ।

मृतक कोलीका श्रीमती र चार छोराछोरी छन्। भारतमा मजदुरी तथा व्यवसाय गरेर परिवारको जीविकोपार्जन गर्दै आएका उनको निधनपछि परिवार आर्थिक तथा मानसिक समस्यामा परेको छ।

कोली दुर्घटनामा परेदेखि नै उनको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको थियो। उनको निधनपछि अहिले आश्रित परिवारलाई सहयोग गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको छ। सहयोगी मनहरूलाई परिवारको कठिन परिस्थितिमा साथ दिन आग्रह गरिएको छ।