१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको खेलाडी छनोट सुरु, २ हजार ४६४ खेलाडी प्रतिस्पर्धामा

Image
Nisarga Hospital

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुदका लागि प्रदेशका नौवटै जिल्लाबाट छनोट भएका २ हजार ४६४ खेलाडीले ३० विधाका खेलमा प्रतिस्पर्धा गर्नेछन्।

CP Hospital Dhangadhi

प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिता मंसिर १ गतेसम्म कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन हुनेछ। धनगढी रंगशालामा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री खगराज भट्टले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

कैलालीमा फुटबल, क्रिकेट, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, उसु, भारोत्तोलनलगायत १८ खेल सञ्चालन हुनेछन्। कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, कुस्ती, जुडोलगायत सात खेल तथा डडेल्धुरामा महिला र पुरुष भलिबल प्रतियोगिता आयोजना गरिनेछ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार प्रतियोगितामा खेलाडीसहित प्रशिक्षक र अफिसियल गरी कुल ७४४ जनाको सहभागिता रहनेछ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले खेलकुदले मानिसलाई अनुशासित बनाउने भन्दै प्रदेश सरकारले आफ्नो क्षमता र स्रोतअनुसार खेल क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए। सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरिन्।