
डोटीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीकेदार धाममा आगामी मंसिर ५ गतेदेखि तीनदिने धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ। मेलामा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतको उत्तर प्रदेशबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।

बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार मेलामा कार्तिक शुक्ल त्रयोदशीको राति विशेष धार्मिक कार्यक्रम तथा चतुर्दशीका दिन बिहान पवित्र शिलामा पूजाअर्चना गरिनेछ। विभिन्न क्षेत्रबाट देवताका देउरा र भाँकीसहित आउने भक्तजनले रातभर डेउडा, नाचगान, भजनकीर्तन तथा पूजाआजा गर्ने परम्परा छ।
समुद्री सतहबाट २ हजार ५९१ मिटर उचाइमा रहेको बडीकेदार धामलाई भगवान् शिवको पवित्र तीर्थस्थलका रूपमा मानिन्छ। यहाँ मूर्तिको सट्टा ठूलो शिलालाई शिवलिङ्गका रूपमा पूजा गर्ने चलन छ। दर्शन तथा पूजाआजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडीकेदारलाई प्रदेशकै महत्वपूर्ण धार्मिक शक्तिपीठका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उनले धामको विकासका लागि गुरुयोजना निर्माण भइरहेको र बजेट विनियोजन गरेर आवश्यक पूर्वाधार निर्माण अघि बढाइने जानकारी दिए।
धनगढीबाट करिब ११६ किलोमिटर सडक यात्रापछि अत्तरकाँडा पुग्न सकिन्छ। त्यहाँबाट करिब दुई घण्टा पैदल उकालो हिँडेर धाम पुग्न सकिन्छ। धार्मिक पर्यटन प्रवर्द्धन र भक्तजनको सहभागिता बढाउने उद्देश्यले आयोजित मेलामा सहभागी हुन आयोजकले सबैलाई आग्रह गरेका छन्।






























