पश्चिमी वायुको प्रभावले भोलि तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना, बंगालको खाडीमा चक्रवात बन्दै

Image
Nisarga Hospital

नेपालमा पश्चिमी वायुको प्रभाव बढेसँगै भोलि देशका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ। केही स्थानमा असिनासमेत पर्ने सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा भने वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ।

CP Hospital Dhangadhi

सम्भावित वर्षाले धानबालीमा असर पुर्‍याउन सक्ने भन्दै कृषि क्षेत्रका सरोकारवालाले किसानलाई सतर्क रहन आग्रह गरेका छन्। विशेषगरी तराईका केही स्थानमा धान काट्न बाँकी रहेकाले पाकेको बाली सुरक्षित गर्न सुझाव दिइएको छ। पर्सिदेखि भने मौसम क्रमशः स्थिर हुने अनुमान गरिएको छ।

यसैबीच, बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली सोमबार बेलुकासम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने भारतीय मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको र अण्डमान सागर तथा बङ्गालको खाडीका क्षेत्रमा प्रतिघण्टा ५० देखि ६५ किलोमिटरसम्मको हावाहुरी चल्न सक्ने अनुमान छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतको ओडिसा सरकारले तटीय तथा दक्षिणी क्षेत्रका जिल्लामा सतर्कता अपनाउन निर्देशन दिएको छ। केन्द्रपाडा र जगतसिंहपुरलगायत क्षेत्रमा मङ्सिर २ र ३ गते भारी वर्षा, चट्याङ र तीव्र हावाहुरीको सम्भावना औँल्याइएको छ।

यद्यपि, नेपालको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातबाट नेपालमा तत्काल ठूलो प्रभाव पर्ने सम्भावना नरहेको जनाएको छ। चक्रवातको तीव्रताअनुसार यसको प्रभाव फरक पर्न सक्ने भएकाले मौसमको नियमित जानकारी लिन आग्रह गरिएको छ।