अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा गम्भीर समस्या, हजारौँ उडान रद्द र लाखौँ यात्रु प्रभावित

Image
Nisarga Hospital

अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभर चार घण्टाभन्दा बढी समय हवाई उडान अवरुद्ध भएको छ। अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार देशभरका विमानस्थलबाट हुने उडानमा लगाएको प्रतिबन्ध राति हटाएपछि सेवा पुनः सञ्चालन भएको हो। सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा पहिलोपटक यति लामो समय देशव्यापी उडान अवरुद्ध भएको हो।

CP Hospital Dhangadhi

उडान ट्र्याकिङ संस्था फ्लाइटअवेयरका अनुसार अवरोधका कारण ८ हजार ५०० भन्दा बढी उडान ढिला भएका छन् भने झन्डै ८ हजार उडान रद्द भएका छन्। यसबाट हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन्। उडान रोकिँदा आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमानमध्ये केहीलाई अन्य विमानस्थलतर्फ मोडिएको थियो।

अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार दशकौँ पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणालीको सञ्चार सञ्जालमा अत्यधिक तथ्याङ्कको भार परेपछि स्विच र राउटरले काम गर्न छाडेका थिए। यसले हवाई ट्राफिक नियन्त्रण केन्द्रबीचको सञ्चार तथा राडार प्रणालीमा असर पारेको थियो।

सरकारले यो घटना साइबर आक्रमणका कारण नभएको स्पष्ट पारेको छ। होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले साइबर आक्रमण भएको कुनै प्रमाण नभेटिएको बताएका छन्। यातायातमन्त्री डफीले पुरानो प्रणाली आधुनिकीकरण गर्न करिब ५० अर्ब डलर आवश्यक पर्ने बताएका छन्।

यसको प्रभाव अन्तर्राष्ट्रिय उडानमा समेत परेको छ। बेलायत, अस्ट्रेलिया र क्यानडाबाट अमेरिकातर्फ जाने तथा त्यहाँबाट प्रस्थान गर्ने विभिन्न उडान प्रभावित भएका छन्। डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्सले उडान पुनः सञ्चालन गर्न थाले पनि नियमित तालिका बनाउन केही दिन लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

अमेरिकाको कानुनअनुसार उडान रद्द भएमा वा निर्धारित समयभन्दा लामो ढिला भएमा यात्रुले अर्को उडान वा टिकटको पूर्ण रकम फिर्ता पाउने विकल्प प्राप्त गर्न सक्छन्। तर हवाई ट्राफिक नियन्त्रण प्रणालीको समस्या एयरलाइन्सको नियन्त्रणबाहिरको विषय भएकाले सामान्यतः क्षतिपूर्ति दिनुपर्ने बाध्यता हुँदैन। बेलायतमा भने उडान ढिला वा रद्द हुँदा यात्रुको खाना, आवास र यातायात व्यवस्थापन गर्नुपर्ने प्रावधान छ।