बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर ८ वर्षीय बालकको मृत्यु

Image
Nisarga Hospital

बाजुरामा भिरबाट अचानक खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ। गौमुल गाउँपालिका–५ का बलबहादुर बुढाका ८ वर्षीय छोरा समिर बुढाको ढुङ्गा लागेर मृत्यु भएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे गौमुल गाउँपालिका–४ घोगालाबाट घर फर्किने क्रममा अचानक भिरबाट खसेको ढुङ्गा बालकको टाउकोमा लागेको थियो। ढुङ्गाले लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे स्थानीयले शुक्रबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय गौमुलमा जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शुक्रबार राति ८ः३० बजे बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाएको थियो।

राति करिब १०ः३० बजे शव जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।