
पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशको हिमाली भूभागसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशको हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने कोशीसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
यसैगरी, सोमबार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकीका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम बदली र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।






























