छोराको शव गाउँ पुर्‍याउने खर्चसमेत छैन बुवासँग, अछामका गंगाराम आर्थिक सहयोगको याचना गर्दै

Image
Nisarga Hospital

छोराको मृत्युको पीडामाथि आर्थिक अभाव थपिँदा अछामका एक बुवा आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्न नसक्ने अवस्थामा पुगेका छन्। ढकारी गाउँपालिका–१ बासल्लाका गंगाराम बुढा अहिले सदरमुकाम मंगलसेनमा सहयोगको याचना गर्दै छटपटाइरहेका छन्।

CP Hospital Dhangadhi

उनका २८ वर्षीय छोरा बिर्ख बुढाको उपचारका क्रममा शनिबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको हो। शुक्रबार साँझ करिब साढे ७ बजे स्थानीय पसलबाट घर फर्किने क्रममा उनी भीरबाट खसेर गम्भीर घाइते भएका थिए। उनलाई राति नै उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो।

चिकित्सकले थप उपचारका लागि अन्यत्र लैजान सुझाव दिएपछि बुवाले २० हजार रुपैयाँ तिरेर जीपसमेत बुक गरेका थिए। तर, आर्थिक अभावका कारण थप उपचारको व्यवस्था गर्न नसक्दै शनिबार बिहान सवा ९ बजे बिर्खको मृत्यु भयो।

छोराको उपचारका लागि गाउँबाट ल्याउँदा लागेको जीप भाडा तिर्नसमेत नसकेका गंगारामलाई अहिले शव गाउँ पुर्‍याउनु अर्को ठूलो चुनौती बनेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जाहेरी लेखाउने खर्चसमेत उनीसँग छैन।

परिवारका जेठा छोरा बिर्ख भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका थिए। पाँच महिनाअघि घर फर्किएर गाउँमै ज्यालामजदुरी गर्दै आएका उनको परिवारमा पाँच, सात र ११ वर्षका तीन भाइ छन्।

आफन्तको उपस्थितिमा छोराको अन्तिम संस्कार गर्ने इच्छा भए पनि आर्थिक अभावले गंगाराम असहाय बनेका छन्। अछामका पत्रकार वेदप्रकाश तिमिल्सिनाले उनको अवस्थाबारे जानकारी पाएपछि अन्त्येष्टिका लागि आर्थिक सहयोग जुटाउन सार्वजनिक अपिल गरेका छन्।