
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज आइतबार लिग चरणका दुई महत्त्वपूर्ण खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्दा साँझ ५ बजे काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागिसकेको अवस्थामा आजका खेलले अंकतालिकाको अन्तिम समीकरण निर्धारण गर्नेछन्। चितवनले ६ खेलबाट ७ अंक जोड्दै चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको छ। अर्कोतर्फ कर्णालीले ६ खेलमा दुई जितसहित ४ अंक जोडेको छ। लगातार चार खेलमा पराजित भएको कर्णाली आज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। उसका लागि पवन सर्राफले १५२ रन बनाएका छन् भने मार्क वाटले ९ विकेट लिएका छन्।
दोस्रो खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको काठमाडौंले अन्तिम खेलमा पोखराको सामना गर्नेछ। काठमाडौंका राशिद खानले १५५ रन बनाउँदा जाहन्दाद खानले ११ विकेट लिएका छन्।
यता पोखरा ६ खेलमा एक जितसहित २ अंक जोडेर तालिकाको पुछारमा छ। उसका युवराज सामराले तीन इनिङ्समा २०५ रन बनाउँदै एक शतकसमेत प्रहार गरेका छन्।
लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् भने विराटनगर, पोखरा, कर्णाली र जनकपुर प्रतियोगिताबाट बाहिरिएका छन्।






























