
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजविरुद्ध कीर्तिमानी ब्याटिङ गर्दै २२४ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो। यो एनपीएल इतिहासकै अहिलेसम्मको सर्वाधिक योगफल हो।

पोखराका कुशल भुर्तेल शतक बनाउन एक रनले चुके। उनले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए। अर्का ओपनर युवराज सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतले ८९ रन जोडे।
दोस्रो विकेटका लागि कुशल र युवराजले १८६ रनको कीर्तिमानी साझेदारी गरे, जुन एनपीएलकै अहिलेसम्मको ठूलो साझेदारी हो। अर्जुन कुमाल ५ रनमा आउट भएपछि यी दुईले पोखराको इनिङ्स सम्हालेका थिए।
यससँगै पोखरा एकै सिजन दुई पटक २०० भन्दा बढी रन बनाउने पहिलो टोली बनेको छ। यसअघि कर्णालीविरुद्ध २१७ रन बनाएको थियो। काठमाडौँका करण केसीले दुई तथा जहानदाद खानले एक विकेट लिए।





























