
धनगढी: आस्था, श्रद्धा र धार्मिक उत्साहको अनुपम संगम बनेको छठ पर्व धनगढीको मोहनाघाटमा भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ। छठ पूजा सेवा समितिको आयोजनामा भएको कार्यक्रममा सयौँ व्रतालु महिला तथा श्रद्धालु भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिपूर्वक छठी माताको पूजाआराधना गरेका छन्।

मोहना नदी किनारमा आयोजित छठ पूजामा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पूजा स्थलमा दुई सय ५० भन्दा बढी स्टलहरू राखिएका थिए। धार्मिक आस्था, श्रद्धा र उत्साहले मोहनाघाट क्षेत्र दिनभरि नै भक्तिमय बनेको थियो।
यसपटकको छठ पूजामा धार्मिक उत्सवको भव्यतासँगै सुरक्षा व्यवस्थापन पनि विशेष चर्चाको विषय बनेको छ। ठूलो संख्यामा भक्तजनको सहभागिता र रातिसम्म चल्ने धार्मिक गतिविधिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रबहादुर चन्दको निर्देशनमा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको थियो।
एसपी चन्दको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंह तथा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्रदेश प्रहरी कार्यालयबाट समेत सुरक्षाकर्मी परिचालन गरी मोहनाघाट क्षेत्रको सुरक्षा निगरानीलाई प्रभावकारी बनाइएको थियो। प्रहरी चौकी त्रिनगरको टोलीसमेत सुरक्षा व्यवस्थापनमा खटिएको थियो।
विशेषगरी रातिको समयमा हुन सक्ने पाकेटमारी, चोरी, मदिरा सेवन गरी होहल्ला गर्ने, पटका पड्काउने तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले सूक्ष्म निगरानी गरेको थियो। शंकास्पद गतिविधिमाथि निगरानी बढाउनुका साथै होहल्ला तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई सम्झाइबुझाइ गरी घर पठाइएको थियो।
त्यस्तै, छठ पूजामा सहभागी हुने भक्तजन तथा सवारीसाधनको चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीसमेत सक्रिय रूपमा परिचालन गरिएको थियो। त्रिनगर ट्राफिक प्रहरी प्रमुख सन्तोष सिंहको कमाण्डमा खटिएको ट्राफिक टोलीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट थप जनशक्तिले सहयोग गरेको थियो। जसका कारण सवारी आवागमन र भीड व्यवस्थापनलाई सहज बनाउन मद्दत पुगेको थियो।
धार्मिक कार्यक्रमलाई सुरक्षित बनाउने, सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने, भक्तजनको आवागमन सहज बनाउने र रातिसम्म सुरक्षा निगरानी कायम राख्ने कार्यमा प्रहरीको समन्वयात्मक सक्रियता देखिएको थियो।
आयोजक समितिको व्यवस्थापकीय तयारी, भक्तजनहरूको उत्साहपूर्ण सहभागिता र सुरक्षा निकायको सक्रिय समन्वयका कारण धनगढीको मोहनाघाटमा आयोजित छठ पूजा भव्य, सभ्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।





























