उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ पर्व सम्पन्न

Image
Nisarga Hospital

उदाउँदो सूर्यदेवलाई विधिपूर्वक अर्घ्य अर्पण गरेसँगै यस वर्षको छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। चार दिनसम्म श्रद्धा, भक्तिभाव र निष्ठाका साथ मनाइने छठ पर्वको अन्तिम दिन बिहानैदेखि व्रतालुहरू नदी, पोखरी तथा विभिन्न जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्।

CP Hospital Dhangadhi

छठ पर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। त्यसपछि रातभर जाग्राम बसेर सूर्यदेव तथा छठी माताको आराधना गरिएको थियो। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरी प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ।

सूर्यदेवको उपासना र छठी माताको आराधना गरिने यस पर्वमा शुद्धता, पवित्रता, निष्ठा र कठोर व्रतलाई विशेष महत्त्व दिइन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै श्रद्धालुहरूले छठ पर्व मनाउने गर्छन्।

यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य अर्पण गरिने विशेष धार्मिक मान्यता रहेको छ। पछिल्लो समय नेपालका विभिन्न सहर तथा तराईका जिल्लामा छठ पर्व उत्साहपूर्वक मनाउने क्रम बढ्दै गएको छ।