
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण देशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली भूभागमा साधारणतया बादल लागेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।






























