
अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक खराबीले सिर्जना गरेको उडान अवरोध तेस्रो दिनसम्म पनि सामान्य हुन सकेको छैन। शुक्रबार देशभरका विमानस्थलमा उडान रोक्नुपरेको घटनाको असर आइतबारसम्म जारी रहँदा हजारौँ यात्रु प्रभावित भएका छन्। आइतबार मात्रै अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन्। यसअघि शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी ढिलाइ भएका थिए।

अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरे पनि विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले थप समय लाग्न सक्ने बताएका छन्। उनका अनुसार उडान तालिका नियमित बनाउन विमान तथा कर्मचारीको व्यवस्थापन मुख्य चुनौती बनेको छ।
शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को एयर ट्राफिक कन्ट्रोल प्रणालीमा सञ्चार नेटवर्कको समस्या देखिएपछि करिब पाँच घण्टासम्म देशभरका उडान रोकिएका थिए। पुराना तामाका तारलाई फाइबर अप्टिक प्रविधिमा रूपान्तरण गर्ने क्रममा नयाँ राउटर जडान गर्दा अत्यधिक डाटा प्रवाह भएको र त्यसले सञ्चार प्रणाली प्रभावित बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
समस्याका कारण विमान चालक र नियन्त्रण कक्षबीचको सञ्चार प्रभावित हुने अवस्था आएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै उडान रोकिएको थियो। एफएएले समस्या उत्पन्न गराउने राउटर बन्द गर्नुका साथै सावधानीस्वरूप अन्य करिब ६० वटा राउटरको प्रसारण सुविधा पनि बन्द गरेको जनाएको छ।
अमेरिकी अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा साइबर आक्रमण वा बाह्य हस्तक्षेपको संकेत फेला नपरेको बताएका छन्। एफएए र नेटवर्क सेवा प्रदायक कम्पनीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छन्। शुक्रबार उडान रोकिँदा आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमानलाई सुरक्षित अवतरण गराइएको थियो। तर विमानस्थलमा रहेका यात्रुले घण्टौँ कुर्नुपरेको थियो भने केहीले विमानस्थलमै रात बिताउनुपरेको थियो। यसको असर युरोप र बेलायतसँग जोडिएका अन्तर्राष्ट्रिय उडानमा समेत परेको थियो।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुरानो हवाई नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न थप बजेट आवश्यक रहेको बताएका छन्। यातायातमन्त्री डफीले प्रणालीको पूर्ण स्तरोन्नतिका लागि ५० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्। यसअघि कंग्रेसले सन् २०२५ मा सुधारका लागि १२ अर्ब ५० करोड डलर स्वीकृत गरेको थियो। तर उक्त रकममध्ये ठूलो हिस्सा खर्च हुन बाँकी रहेको भन्दै विपक्षी सांसदहरूले थप बजेटको आवश्यकतामाथि प्रश्न उठाएका छन्। पछिल्लो घटनाले अमेरिकी हवाई यातायात प्रणालीमा पुरानो प्रविधि र पूर्वाधार सुधारको चुनौती पुनः उजागर गरेको छ।






























