
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका खेल सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ। पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेपछि प्लेअफको समीकरण टुंगिएको हो। जितसँगै पोखराले काठमाडौंलाई शीर्ष दुईमा पुग्नबाट रोक्यो। सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा रह्यो।
११ अंकसहित लुम्बिनी पहिलो र १० अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका छन्। अब एलिमिनेटरमा काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
मंगलबार हुने पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ। त्यसका लागि उसले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।






























