डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा मङ्सिर ७ गते रतेडी र ८ गते दिउँसेडी मेला लाग्ने

Image
Nisarga Hospital

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ऐतिहासिक तथा धार्मिक मेला ‘देहिजाँत’ यस वर्ष मङ्सिर ७ र ८ गते आयोजना हुने भएको छ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार मङ्सिर ७ गते राति रतेडी र ८ गते दिउँसेडी मेला लाग्नेछ।

CP Hospital Dhangadhi

डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवती मन्दिरमा लाग्ने यस मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन दर्शन तथा पूजाआराधनाका लागि पुग्ने गर्छन्।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार परम्परादेखि मनाइँदै आएको देहिजाँतको आफ्नै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व छ। मेलाको मुख्य आकर्षण चारवटा गाउँबाट परम्परागत बाजागाजासहित भगवती माताको डोली र देउरो मन्दिरमा ल्याउने प्रचलन हो।

छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँमा रहेका भगवतीका भण्डारबाट मेला सुरु हुने दिन बिहानै देउरो निकालिन्छ। बिहान करिब ४ बजेदेखि दाइन, दमाहा, रुइसिङ, बिगुल, भोकर, शङ्ख र घण्टालगायत परम्परागत बाजागाजासहित भगवती माताको डोली मन्दिरमा पुर्‍याइन्छ। त्यसपछि धार्मिक विधिअनुसार पूजाआराधना सुरु हुने अध्यक्ष साँकीले बताए।

स्थानीय देवकी भट्टका अनुसार बिहानको पूजापाठ सम्पन्न भएपछि दिउँसो भगवती माताको गाँजलाई मन्दिर परिसर तथा सयौँ एकडमा फैलिएको विशाल मैदानका विभिन्न चार स्थानमा परम्परागत बाजागाजासहित परिक्रमा गराइन्छ। बिहान चारवटै गाउँबाट ल्याइएको देउरो साँझ पुनः आ–आफ्नै गाउँमा फर्काइएसँगै मेलाको समापन हुन्छ।

देहिजाँत धार्मिक आस्थाको केन्द्र मात्र नभई सुदूरपश्चिमको मौलिक संस्कृति, सामाजिक सद्भाव र परम्परागत जीवनशैलीको प्रतिबिम्बसमेत हो। मेलामा वर्ष दिनपछि भेटघाट गर्ने आफन्त, इष्टमित्र तथा साथीभाइबीच सुखदुःख साटासाट गर्ने अवसर मिल्छ। स्थानीय परिकार माँडा, परम्परागत भेषभूषा, बाजागाजा तथा लोपोन्मुख स्थानीय उत्पादनको किनबेचले मेलाको रौनक थप्ने गर्छ। स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका दृष्टिले पनि देहिजाँत महत्त्वपूर्ण मानिन्छ।

किम्बदन्तीअनुसार करिब दुई हजार पाँच सय वर्षअघि हालको अमरगढी नगरपालिका क्षेत्रअन्तर्गत लटाउलीमा बसोबास गर्ने साँकी जातिका एक स्थानीयले हलो जोत्ने क्रममा हलोको फाली लाग्दा जमिनबाट रगत बगेको र त्यसपछि देवी उत्पत्ति भई दर्शन दिएको जनविश्वास छ। सोही घटनापछि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा–आराधना गर्न थालिएको धार्मिक मान्यता रहिआएको अध्यक्ष साँकीले बताए।

वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा भगवतीको दर्शन तथा पूजाआराधना गरेमा दैवी विपत्ति टर्ने, सुख–समृद्धि प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास छ। यही धार्मिक आस्था र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्पराका कारण देहिजाँत सुदूरपश्चिमकै विशिष्ट धार्मिक मेलाका रूपमा स्थापित छ।