
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि ११० रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। लगातार मूल्य घटेसँगै दुई दिनमा सुन प्रतितोला ८ हजार २०० रुपैयाँले सस्तिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग र आपूर्तिको अवस्थाले नेपाली बजारमा सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ। मूल्यमा आएको गिरावटले खरिदकर्तालाई केही राहत पुग्ने देखिएको छ।






























