
काठमाडौँको वायु प्रदूषण थप बढ्दै गएको छ। विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ।

वायु गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान ६ देखि ७ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ। यसअघि बिहान ५ देखि ६ बजेसम्म १५८ एक्यूआईसहित काठमाडौँ ११औँ स्थानमा थियो। एक घण्टामै प्रदूषणको स्तर १४ अंकले बढेको हो।
आईक्यूएयरका अनुसार एक्यूआई १५१ देखि २०० सम्मको अवस्थालाई अस्वस्थकर मानिन्छ। विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो स्थानमा छ। त्यस्तै, बंगलादेशको ढाका २०८ सहित दोस्रो, भारतको कोलकाता १९९ सहित तेस्रो र दिल्ली १८३ सहित चौथो स्थानमा छन्।
यसैगरी उज्बेकिस्तानको तास्कन्द छैटौँ, इन्डोनेसियाको जकार्ता सातौँ र भारतको मुम्बई आठौँ स्थानमा रहेका छन्।
काठमाडौँमा वायु प्रदूषण बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।





























