
नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

काठमाडौंका लागि विलियम बोसिस्टोले ३७, भीम सार्कीले अविजित ३० र सहान अराचिगेले २४ रन बनाए। चितवनका रिजन ढकालले ४ विकेट तथा उसामा मिरले ३ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। चितवनका कमिल मिशाराले ५९ बलमा १० छक्का र ५ चौकासहित अविजित १२० रनको शानदार शतकीय पारी खेले। कप्तान रवि बोपाराले ५३ रन बनाए। यी दुईबीच तेस्रो विकेटका लागि १५४ रनको कीर्तिमानी साझेदारी भएको थियो।
जितसँगै चितवनले अब बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ।






























