
विश्व राजनीतिमा महत्त्वपूर्ण घटनाक्रमका रूपमा चीन, अमेरिका र रुसका शीर्ष नेताहरू पहिलोपटक एकैसाथ सार्वजनिक रूपमा देखिएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको शेन्जेन सहरमा आयोजित रात्रिभोजअघि रातो कार्पेटमा सँगै देखिएका हुन्।

रुसको क्रेमलिन प्रेस टोलीले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा तीनै नेताको दुर्लभ भेटको दृश्य कैद भएको छ। भिडियोमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी तथा उनकी पत्नी नजिकै उभिएको अवस्थामा पुटिन उनीहरूतर्फ अघि बढेको देखिन्छ।
भेटका क्रममा ट्रम्प र पुटिनले हात मिलाउँदै तथा एकअर्काको काँध थपथपाएर न्यानो अभिवादन गरेका थिए। सन् २०२५ अगस्टमा अमेरिकाको अलास्कामा भएको रुस–अमेरिका शिखर वार्तापछि ट्रम्प र पुटिनबीच यो पहिलो प्रत्यक्ष भेट भएको विवरणमा उल्लेख छ।
तीनै महाशक्ति राष्ट्रका नेताहरू एउटै दृश्यमा देखिनुलाई अन्तर्राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ। आयोजक चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा ट्रम्प र पुटिन शेन्जेन पुगेका हुन्।
तीन देशका शीर्ष नेताबीच भोलि दिउँसो औपचारिक त्रिपक्षीय वार्ता हुने कार्यतालिका रहेको जनाइएको छ।






























