
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई प्रदान गरिँदै आएको डायलासिस सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ। तर, बिरामीको चाप बढेसँगै आवश्यक मेसिन र दक्ष जनशक्तिको अभावले सेवा व्यवस्थापनमा चुनौती थपिएको छ।

अस्पतालले २०७९ चैतदेखि डायलासिस सेवा सुरु गरेको हो। सुरुमा एक–दुई जना बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा अहिले दैनिकजसो ६२ जनाले सेवा लिइरहेका छन्। बिरामीको चाप बढेपछि सेवा सञ्चालनको समय बिहान ७ बजेदेखि राति ११ बजेसम्म विस्तार गरिएको छ।
अस्पतालमा १० वटा डायलासिस मेसिन रहे पनि नौ वटा मात्रै नियमित प्रयोगमा छन्। एउटा मेसिन आकस्मिक अवस्थाका लागि छुट्याइएको छ। पाँच वटा निकिसो र पाँच वटा निप्रो मेसिन रहेको अस्पतालमा थप मेसिन आवश्यक भए पनि सङ्घीय तथा प्रदेश सरकारसँग गरिएको मागअनुसार उपलब्ध हुन सकेको छैन।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश जोशीका अनुसार मिर्गौलाका बिरामी बढ्दै जाँदा उपलब्ध स्रोतसाधनले सेवा सञ्चालन गर्न कठिन भइरहेको छ। अस्पतालमा नेफ्रोलोजिस्ट नहुँदा तालिमप्राप्त स्टाफ नर्समार्फत सेवा सञ्चालन भइरहेको छ। हाल शाखामा १० जना स्टाफ नर्स र चार जना सहयोगी कार्यरत छन्।
एक जना बिरामीको डायलासिस गर्न चारदेखि पाँच घण्टा लाग्ने गर्छ। बिरामीको अवस्थाअनुसार हप्तामा एकदेखि तीन पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ। अस्पतालको तथ्याङ्कअनुसार गत कात्तिकमा मात्रै ४५१ सेसन डायलासिस गरिएको थियो भने सेवा सुरु भएयता झन्डै चार सय जनाले सेवा लिइसकेका छन्।
स्थानीयस्तरमै सेवा उपलब्ध भएपछि बिरामीलाई उपचारका लागि धनगढी जानुपर्ने बाध्यता केही कम भएको छ। अस्पतालले आन्तरिक स्रोतबाट सेवा सञ्चालन गर्दै आएको छ। पर्याप्त मेसिन र विशेषज्ञ जनशक्ति थप्न सके सेवा अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।





























