एक महिनाभित्र विद्युत सेवा सञ्चालन गर्ने सहमतिपछि सिगास–१ को वडा कार्यालयको तालाबन्दी खुल्यो

Image
Nisarga Hospital

बैतडीको सिगास गाउँपालिका–१ को वडा कार्यालयमा स्थानीयले गरेको तालाबन्दी खुलेको छ। एक महिनाभित्रै विद्युत सेवा सञ्चालन गर्ने सहमति भएपछि बुधबार वडा कार्यालयको तालाबन्दी खोलिएको हो।

CP Hospital Dhangadhi

वडाका आधाभन्दा बढी गाउँमा विद्युत विस्तारका लागि आवश्यक संरचना निर्माण भइसके पनि हालसम्म विद्युत सेवा सञ्चालन हुन सकेको छैन। गाउँमा विद्युतका पोल, तारलगायत संरचना निर्माण गरिएको लामो समय बितिसक्दा पनि घरघरमा विद्युत नबलेपछि स्थानीयले सेवा तत्काल सञ्चालन गर्न माग गर्दै आएका थिए।

विद्युत विस्तार भएका गाउँमा समेत सेवा सञ्चालन नभएको भन्दै स्थानीयले गत मंसिर १ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए।

बुधबार वडा अध्यक्ष रामचन्द्र ऐरी, नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रतिनिधि र संघर्ष समितिबीच एक महिनाभित्र विद्युत सेवा सञ्चालन गर्ने सहमति भएको संघर्ष समितिले जनाएको छ। सहमतिअनुसार वडा नं. १ का विभिन्न गाउँमा निर्माण गरिएका विद्युत संरचनाको आवश्यक प्राविधिक सुधार गरी एक महिनाभित्र विद्युत बाल्ने प्रतिबद्धता जनाइएको छ।

सहमतिपछि स्थानीयले वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्। संघर्ष समितिले तोकिएको समयभित्र विद्युत सेवा सञ्चालन नभए पुनः वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ। लामो समयदेखि विद्युतको प्रतीक्षामा रहेका स्थानीयले सहमतिअनुसार काम हुने अपेक्षा गरेका छन्।