
भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार राहत वितरणका लागि आवश्यक पर्ने ५२ लाख रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग माग गरिएको छ।
उनले बेपत्ता भएका २६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिँदै सम्बन्धित स्थानीय तहलाई तत्काल राहत वितरण गर्न भनिएको बताए। स्थानीय तहले उपलब्ध गराएको रकम पछि शोधभर्ना गर्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार बाढीमा परी भीमदत्त नगरपालिकाका आठ जना बेपत्ता भएका छन्। त्यस्तै, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाका पाँच, बेदकोट र बेलौरी नगरपालिकाका तीन–तीन तथा लालझाडी गाउँपालिकाका एक जना बेपत्ता रहेका छन्।
बाढीपछि लामो समयदेखि आफ्ना आफन्तको अवस्थाबारे अनिश्चिततामा रहेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो। विपद्का कारण प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्याउने उद्देश्यले समितिले यस्तो निर्णय गरेको जनाएको छ।
निर्णयअनुसार सम्बन्धित स्थानीय तहले राहत वितरणको प्रक्रिया अघि बढाउनेछन्। राहतका लागि आवश्यक ५२ लाख रुपैयाँ प्राप्त भएपछि प्राधिकरणबाट सोधभर्ना गरिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।





























