
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको रोमाञ्चक खेलमा १३५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभर ५ बलमा ७ विकेट गुमाउँदै जित निकालेको हो।

सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके नायक बने। धर्मराएको ब्याटिङ सम्हाल्दै उनले ४१ बलमा अर्धशतक पूरा गरे। रत्नायकेले धैर्यपूर्ण ब्याटिङ गर्दै ४१ बलमा ५० रन बनाएपछि सुदूरपश्चिमको जितको आधार तयार भएको थियो।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले १३ बलमा २३ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५, इसन पाण्डेले ९ बलमा १० तथा आरिफ शेखले १० बलमा १० रन जोडे। जर्ज मुन्से ८, स्कट कुगलेन २ र फ्याबियन एलेन ५ रनमा आउट भए।
अन्तिम ओभरमा सुदूरपश्चिमलाई जितका लागि चार रन आवश्यक थियो। कामिल मिसाराले बलिङ गरेको ओभरमा तीन बलमा दुई रन मात्रै बनेपछि खेल थप रोमाञ्चक बनेको थियो। चौथो बलमा फ्याबियन एलेन आउट भएपछि सुदूरपश्चिममाथि दबाब बढ्यो। अन्तिम दुई बलमा दुई रन चाहिएको अवस्थामा क्रिजमा आएका दीपक बोहराले चौका प्रहार गर्दै टोलीलाई फाइनल पुर्याए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रन बनाए। उनले ५१ बलमा उक्त रन जोडे। सलाउद्दिन खानले १६ बलमा १८ रन बनाए।
चितवनका अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। कामिल मिसारा ४, देव खनाल ६, रवि बोपारा १, विवेक यादव ३, कुशल मल्ल १ र उसामा मिर २ रनमा आउट भए।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेनले सर्वाधिक तीन विकेट लिए। थरिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इसन पाण्डेले एक–एक विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिमले लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुग्ने उपलब्धि हासिल गरेको छ। अब उपाधिका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। 🏏💛





























